Logo

गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन गठबन्धन: अध्यक्ष नेपाल



काठमाडौँ, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन् ।

ललितपुरमा आज आयोजित वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुई-दुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए ।

“दुई-दुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो”, उनले भने, “त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ ।”

संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । “गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।”

प्रतिक्रिया दिनुहोस्