काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताएका छन् ।
शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन् ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि शहीदहरुको त्याग र बलिदान नै प्रमुख रुपमा रहेको उनको भनाइ थियो । समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उनले शहीद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए ।
“हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं । शहीदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले शहीदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पका निम्ति सबैसँग अपिल गर्दछु”, उनले भने ।






