Logo

गणतन्त्रबारे मिथ्या प्रचार भइरहेको छ: अध्यक्ष ओली



काठमाडौँ, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रबारे मिथ्या प्रचार भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट मिथ्या प्रचार शुरु गरिएको भन्दै सजग रहन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने तर्क गरेका छन् ।

‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ’, उनले भनेका छन्, ‘जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्।’

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव भएको उल्लेख गर्दै उनले जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको बताएका छन् ।

अध्यक्ष ओलीले गणतन्त्र नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिवस भएको भन्दै गणतन्त्र स्थापनापछिका त्रुटि भएका र तिनलाई सच्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्