Logo

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी: यादव



जनकपुर, ८ फागुन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

“जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”, उनले भने, “त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।”

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्