Logo

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ: अध्यक्ष नेपाल



फाइल तस्बिर

कैलाली, २६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुन: राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।”

उाले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व लागिरहेको समेत आरोप लगाएका छन् । “संविधान जारी भएको आठ वर्षमात्रै भयो । केही कमी-कमजोरी छन्, यसको अर्थ संविधान गलत छ भन्ने होइन”, अध्यक्ष नेपालले भने, “संविधान, गणतन्त्र, सङ्घीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस्”, संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिस्कारको क्रम निरन्तर रहने उनको भनाइ छ ।

धरान, सर्लाही, नेपालगञ्जलगायतका ठाउँमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने कोसिस भइरहेको बताउँदै त्यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिए ।

अहिले नागरिकमा समेत नैराश्यता, बेरोजगार, महँगी बढिरहेको बताउँदै देशमा दलालीकरण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्नेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्