Logo

गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक स्थगित



फाइल तस्बिर

काठमाडौँ, ३२ साउन । गणपूरक संख्या नपुगेको भन्दै संसद्को सार्वजनिक लेखा समितिको बैठक स्थगन भएको छ ।

बिहीबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकलाई सांसद्हरूले छलेका छन् । बैठकमा नेकपा (एमाले)का कोही सांसद् उपस्थित भएनन् भने अन्य दलका सांसदहरूको पनि अनुपस्थिति रह्यो ।

अघिल्लो बैठकमा समिति सदस्य तथा एमाले सचिव योगेश भट्टराईले समिति सभापति चयन नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । हालसम्म समिति सभापति चयन हुन सकेको छैन । त्यसैले एमाले बैठकमा उपस्थित नभएको हो कि भन्ने प्रश्न खडा भएको छ ।

बेरुजु संपरिक्षण र विविध विषयमा समितिमा छलफल गर्ने विषयवस्तु राखिएको थियो । तर, २६ सदस्यमध्ये ९ जनामात्र बैठकमा उपस्थित भएका छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीको दफा १८२ मा तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र बैठक सञ्चालन हुने उल्लेख छ । आजको बैठकमा ९ जनामात्र उपस्थित भएका थिए । समितिमा २६ जना सदस्य छन् ।

बैठक सञ्चालन गर्न र गणपूरक संख्या पुर्‍याउन १४ सांसद् अनिवार्य उपस्थित हुर्नैपर्ने नियमावलीको व्यवस्था छ । यसअघि पनि समिति बैठक गणपूरक संख्या नपुगेको भन्दै स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्