Logo

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित



काठमाडौँ, १२ भदौ । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए ।

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या एकिन गर्न निर्देशन दिएका थिए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको हो ।

विभिन्न ७९ वटा कानूनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानूनमन्त्री गुरुङले यो विधेयक संसद्मा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्