Logo

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन



पोखरा, ३२ साउन । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् ।

यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिएका हुन् ।

प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपाया मरेको बताउँदै उनले यसको रोकथामको लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कूल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताए ।

सबैभन्दा बढी गाई र गोरुमा सङ्क्रमण देखिएको उल्लेख गर्दै मन्त्री जोशीले भने, “लम्पी स्किनबाट प्रदेशमा मर्नेमा ९५ प्रतिशत गाई गोरु र पाँच प्रतिशत भैँसी छन् । हिमाली भेगमा चौरीमा समेत उक्त रोगको सङ्क्रमण देखिएको छ ।” गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८२ वटा पालिकामा यो रोगको सङ्क्रमण फैलिएको छ ।

उनले सीमित स्रोत साधन तथा जनशक्तिको अभावमा पनि प्रदेश सरकार यस रोगप्रति संवेदनशील रहेको देखिएको स्पष्ट पारेका हुन् । मुस्ताङको लोमान्थाङ, लो घेकर दामोदर कुण्ड र मनाङ जिल्लाको नापाभूमि गाउँपालिकामा भने लम्पी स्किन रोग देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्