Logo

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय



कास्की, १० चैत । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उनको भनाइ छ । माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए ।

यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशन दिएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्