काठमाडौं, २५ जेठ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्याउन नेपाली कांग्रेसले राप्रपासंग सहयोग मागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर बहुमत पुर्याउन समर्थन माग्नुभएको हो ।
गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट कांग्रेस संसदीय दलका नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुुभएको थियो। संवैधानिक व्यवस्थाअनुसार उहाले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।
पाण्डेले आउँदो जेठ २८ गते विश्वासको मत माग्ने तयारी गर्नुभएको छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेससँग २७ जना सांसद छन् । उसलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्याउने पाण्डेको रणनीति रहेको छ । मनाङेले ३० जना सांसद पुर्याए आफूले ३१ पुर्याइदिने आश्वासन दिनुुभएको छ । नेपालका देवकोटाको समर्थन भने अझै निश्चित छैन ।
कांग्रेस स्रोतका अनुसार देउवाले पत्रमा राप्रपाको सहयोगले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्ने मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।







