Logo

गति पैदा गरेन भने समाजवादी मोर्चा दुर्घटना हुन्छ: भुसाल



काठमाडौँ, ७ असार । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।

माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी’ को उद्घाटन गर्दै उनले वर्तामान आवश्यकतालाई मात्र मोर्चाले ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरेका थिए ।

उनले भने, “सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेको राजनीतिक दलको औचित्य सकिन्छ ।” इमान्दार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।

बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्ने उनको भनाइ छ । वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्नका ठूलो शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको बताए ।

माक्र्सवादीभन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको बताउँदै उनले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतनास्तर कमजोर देखिएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्