Logo

गरुड महापुराणमा जिन्सीसहित ९ लाख उठ्यो



मेचीनगर, ३० चैत । झापाको मेचीनगर-५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा आयोजित प्राण प्रतिष्ठान तथा गरुड महापुराण मंगलबार समापन भएको छ ।

पुराण आयोजक समितिका संयोजक भवानीप्रसाद गुरगाईको अध्यक्षतामा भएको पुराण समापन समारोहको प्रमुख अतिथि नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे रहेका थिए ।

सनातन धर्म सेवा समिति स्थानीय शाखाको सो मन्दिर समितिले गत चैत २१ देखि प्राण प्रतिष्ठान तथा गरुड महापुराण सञ्चालन गरिएको थियो ।

पुराणबाट जिन्सी र नगदसहित ९ लाख रुपैया संकलन भएको मन्दिर समितिका अध्यक्ष अमर सुब्बाले जानकारी दिए । नगद ८ लाख र १ लाख बराबरको विभिन्न जिन्सी समानहरु संकलन भएको उनले बताए । पुराण सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने सुब्बाले बताए ।

पुराणबाट संकलन भएको रकमले अक्षयकोष खडा गर्ने, मन्दिर परिसरमा रहेको नवनिर्मित भवनको माथ्लो तलामा ट्रष्ट लगाउने, रंगरोगन गर्ने, परिसर वरिपरि कम्पाउण्ड वाल बनाउने लक्ष्य रहेको समिति सचिव डम्बर बरालले जानकारी दिए ।

सो कार्यक्रममा जग्गादाता वेदमाया बराल, पुराणमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने सञ्चारकर्मी तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि पाण्डे, मेचीनगर-८ का वडाध्यक्ष विकेन्द्र धिमाल, कथावाचक आचार्य सोमनाथ सुवेदी, मन्दिर समितिका अध्यक्ष सुब्बा लगायतले आ-आफना धारणा राखेका थिए ।

मन्दिर समितिका सचिव बरालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शान्ति भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्