Logo

गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम



भोजपुर, ७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।

यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनले बताए ।

“गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफै खाँदै’कार्यक्रम सञ्चालन भइरहेको छ”, अध्यक्ष राईले भने, “यो कार्यक्रमअन्तर्गत महिलालाई भाले र पोथी कुखुरा वितरण गरेका छौँ । उहाँहरूले आफैँ पालेर खान सक्नुहुनेछ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

गाउँपालिकाभित्र घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको उनले बताएका हुन् । नियमितरूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको उनको भनाइ छ ।

यो कार्यक्रमअन्तर्गत वर्षमा दुईपटक वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । सबै वडामा पहिलो चरण वितरण कामको अन्तिम भएको उपाध्यक्ष राईले जानकारी दिइन् । यसरी वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने उनको भनाइ छ । “सबै वडामा पहिलो चरणको वितरणको काम अन्तिम आवस्थामा पुगेको छ”, उनले भने, “वितरण गरिएको कुखुरा अनिवार्यरूपमा दुई वर्ष पाल्नुपर्ने हुन्छ ।”

यो कार्यक्रमअन्तर्गत पौवादुङमा-१ श्यामशिलाका १७ गर्भवती तथा सुत्केरीलाई एक भाले र दुईवटा पोथी वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । उनीहरूलाई वडा कार्यालयमा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको उनको भनाइ छ ।

“हाम्रो वडाका १७ गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेका छौँ”, वडाध्यक्ष तामाङले भने, “यो कार्यक्रमले उनीहरूलाई लाभ पुगेको छ । यसलाई हामी निरन्तरता दिन्छौँ । यो कार्यक्रमले महिलाको पोषणको क्षेत्रमा सहजता थपेको छ ।”

गाउँपालिकाले सञ्चालन गरेको आफैँ पाल्दै खाँदै कार्यक्रमले सहज भएको स्थानीय महिला रमिला तामाङले बताइन् । यसरी पालेको कुखुराबाट घरमै ताजा अण्डा खान पाइने भएकाले कार्यक्रम लाभदायक रहेको उनको भनाइ छ । यसबाहेक गाउँपालिका तथा वडा कार्यालयबाट अन्य विभिन्न खालका सहयोग पनि पाइरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्