काठमाडौ, २५ चैत । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ बैठकलाई सम्बोधन गर्दै उनले बेथिती र गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहने बताएकी हुन् ।
विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोडन खोज्दा पटक-पटक मुद्दा मामिला बेहोर्नु परेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उनको भनाइ थियो ।
आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताइन् ।
“मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ”, मन्त्री शर्माले भन्नि, “सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।”
माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उनले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पु¥याउन सकिएको बताएकी छन् ।







