उदयपुर, १४ जेठ । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट-दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ ।
गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिबृज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड छ महिनाका लागि बन्द भएको हो ।
सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिबृज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ । यहाँ छ महिनापछि पुन: अस्थायी बेलिबृज जडान गरिने छ ।
कार्यालयका अनुसार गाईघाट-दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका-५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थित लिच्की राम्चेबीचको सुनकोसी नदीमा गतसाल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिबृज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको हो ।
वर्षायाम सुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिबृज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनाएको छ ।
उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिबृज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ । उक्त बेलिबृज हटाइएपछि गाईघाटदेखि दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएका यातायातका साधन छ महिनाका लागि बन्द भएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरले जनाएको छ ।