Logo

गाउँगाउँमा गएर संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन



 

काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गाउँगाउँमा गएर संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान कैलालीले सोमबार आयोजना गरेको ‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घ र प्रदेशको निर्वाचन आउँदै गरेकाले गाउँगाउँमा गएर सङ्गठन निर्माण गरी जनसमक्ष पार्टीलाई स्थापित गर्न आग्रह गरेका हुन् ।

उनले समाजवादी पार्टीमा इमान्दार र निष्ठावान कार्यकर्ताको ठूलो पङ्क्ति रहेकाले सङ्गठन निर्माणसँगै इमान्दारीका साथ जनताको सेवामा लाग्नुपर्ने बताए ।

पार्टी स्थापना भएको छोटो अवधिमा नै ९ लाख जनताले मत जाहेर गरेको बताउँदै उनले आउँदो निर्वाचनमा २० लाख मत पाउने दाबी गरे । उनले आफ्नो पार्टीको नीति ज्येष्ठ नागरिकप्रति कदर र सम्मान गर्ने भएको बताए । ज्येष्ठ नागरिकको अनुभव र युवापुस्ताको जाँगरले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने चर्चा गर्दै बलियो भएको स्थानमा एक्लै लड्ने र कमजोर स्थानमा सम्मानजनक ढङ्गले अरू दलहरूसँग चुनावी तालमेल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्