इजरायल, १२ कार्तिक । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ ।
स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण सुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ ।
सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध दोस्रो चरणको युद्ध सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । तर यो युद्ध निकै कठिन रहेको उनको भनाइ छ । मानवीय सहायतासम्बन्धी निकायहरूले गाजाको अवस्था भयावह रहेको चेतावनी दिएका छन् ।
सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन । तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन् । अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन् ।







