Logo

गाजा क्षेत्रमा युद्ध जारी: इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु



इजरायल, २१ असोज । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।

हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।

हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा-इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।

आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्