Logo

गायक तथा कलाकार रविन तामाङ मृत भेटिए



काठमाडौँ, २० असार । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका छन् । प्रहरीका अनुसार तामाङ घरको कोठा भित्र ढोका लक भएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार ढोका फोरेर हेर्दा उनी बेडमा मृत भेटिएका थिए । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्