झापा, ३० भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो ।
सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टापट्टा दिने निर्णय उल्टाएको छ । मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टापट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ । अदालतको आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको त्यस जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ ।
जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन् । उनीहरूले मन्त्रिस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भइरहेको जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताउनुभएको छ । उहाँले यिनै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।