Logo

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा



भारत, २२ मंसिर । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।

यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौं पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।

गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ ।

गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि १८२ पर्यवेक्षक, १८२ निर्वाचन अधिकृत र ४९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् ।

गुजरातमा विधानसभा चुनाव क्रमश: डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए ।

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस-आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो ।

हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।

भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेको र काङ्ग्रेसले आफ्नो घोषणापत्रमा उल्लेखित ‘१० सुनिश्चितता’ लाई समर्थन गरेपछि पहाडी राज्यमा तीव्र अभियान चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्