Logo

गुजरातलाई हराउँदै नेपालले जित्याे उपाधि



काठमाडौँ, २५ चैत । भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा आज भएको फाइनल खेलमा नेपालले टस जितेर  पहिला ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनायो । नेपालले दिएको एक सय ७७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५८ रन मात्र बनाउन सक्यो ।

नेपालका ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । यस्तै आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ तथा कुशल भुर्तेलले १९ रन बनाएका थिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, स्नेह पटेल, तेजास पटेल र जाला युवराजसिंहले एक-एक विकेट लिए । गुजरातका लागि ब्याटिङ गर्ने क्रममा कप्तान उमङ्ग रोहितकुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै आर्य देसाईले ३६, रुद्र पटेलले १७, हर्ष देसाईले १५ तथा जयमित पटेलले १५ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्