काभ्रेपलाञ्चोक, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वारा आज यहाँ आयोजित ‘नेपालमा बाल्यकाल क्यान्सरको उपचार पहल’सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बालबालिकाको सामाजिक, आर्थिक, पृष्ठभूमि जस्तोसुकै भए पनि क्यान्सरको गुणस्तरीय उपचारका पहुँचमा सरोकारवाला सबैको दायित्व भएको बताए । यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
“हामी एउटा समाज सिर्जना गर्न सक्छौँ, जहाँ बाल्यकालको क्यान्सर अब विनाशकारी निदान होइन तर व्यवस्थापन गर्न सकिने होस्”, मन्त्री बस्नेतले भने । मन्त्री बस्नेतले बाल्यकालको क्यान्सरविरुद्ध बाल चिकित्सा ‘ओन्कोलोजी’का विज्ञले दिएको सुझाव महत्वपूर्ण हुने बताएका हुन् ।
“ज्ञान र अनुभवको आदानप्रदान र सहयोगात्मक प्रयासले बाल्यकालको क्यान्सरविरुद्ध निःसन्देह दूरगामी फाइदा दिनेछ”, उनले भने ।