काठमाडौँ, १५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिकरवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए ।
सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गरेका हुन् ।
आव २०७८र७९ बारे मन्त्री कार्कीले भने, “हामीले अहिलेसम्म राम्रै गरेका छौँ, मन्त्रालयअन्तर्गत सबै निकायको कामबाट हामी असन्तोष हुनुपर्ने अवस्था छैन, तर यतिमै सन्तोष हुने हो भने जनताले अपेक्षा गरेअनुसार लक्ष्यमा पुग्न सक्दैनौँ, अब त्यतातर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”







