काठमाडौँ, १८ पुस । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
उनले चिसोबाट नागरिकलाई जोगाउनको लागि योजनाबद्ध ढङ्गले काम गर्न पनि निर्देशन दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।







