काठमाडौँ, २ फागुन। राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ । प्रधानमन्त्रीका लागि पठाइएका विशेष रिपोर्ट प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्ने र पढ्ने गरेको पाइएको हो ।
‘प्रधानमन्त्रीले मात्रै खाम खोल्न मिल्ने र पढ्न मिल्ने अत्यन्त गोप्य सूचना प्रधानमन्त्रीको स्वकीय सचिवालयले खोल्दा र पढ्दा कतिपय सूचना चुहिएको पाइयो । यसो हुँदा राष्ट्रिय अनुसन्धान विभागले दिने गोप्य सूचनाको औचित्य नै देखिएन,’ विभागका एक उच्च अधिकारीले भने । विभागले हरेक दिन खामभित्र प्रधानमन्त्रीलाई सूचना र रिपोर्ट पठाउने गर्छ भने अर्धसाप्ताहिक र साप्ताहिक रूपमा विशेष रिपोर्ट दिने गर्छ ।
विभागका ती उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीलाई दैनिक रूपमा गरिने रिपोर्ट र बुझाइने प्रतिवेदनमा महत्वपूर्ण विषय र सूचना समेटिने हुनाले त्यो अरू कसैले वा प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका व्यक्तिले हेर्न मिल्दैन । त्यो रिपोर्ट प्रधानमन्त्रीले मुख्य सचिवमार्फत सम्बन्धित मन्त्रालय र कार्यालयलाई कार्यान्वयनका लागि निर्देशन दिनुपर्छ । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले पढ्नुपर्ने वा देशका कार्यकारी प्रमुखले मात्रै खोल्नुपर्ने रिपोर्ट उहाँको सचिवालयमा रहेकाहरूले हेर्ने र पढ्ने गर्न थालेपछि त्यसको कुनै अर्थ रहन्न,’ ती अधिकारीले भने । प्रधानमन्त्रीले खोल्नुपर्ने रिपोर्ट उनको अनुमतिले मुख्य सचिवले मात्रै हेर्न र पढ्न पाउँछन् । तर प्रधानमन्त्री कार्यालयमा रहेका सरकारी कर्मचारीबाहेकका राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरू त्यो सूचनामा हाबी हुन थालेको स्रोतको दाबी छ ।
विभागलाई २०७४ सालमै प्रधानमन्त्री कार्यालयमातहत ल्याइएको थियो । अहिले विभागका सबै सूचना प्रधानमन्त्रीको टेबुलमा पुग्छन् । यसअघि गृह मन्त्रालयमा पुग्ने गथ्र्यो । सो रिपोर्ट प्रधानमन्त्रीले हेरेपछि मुख्य सचिवले कार्यान्वयनको तहमा लैजाने गरेका छन् । विभागले यसरी पठाउने रिपोर्ट वा सूचनामा राष्ट्रिय महत्व, विभिन्न मन्त्रालय र कार्यालयका गतिविधि तथा विभिन्न व्यक्तिको ‘सर्भिलेन्स’समेत समेटिएको हुन्छ । पछिल्लो अवस्थामा विभागले राष्ट्रिय सुरक्षाका अतिरिक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गरिरहेको छ ।
‘राष्ट्रिय सुरक्षाको विषयमा सेना, प्रहरी र सशस्त्रले जस्तै गरी विभागले सूचना संकलन गरिरहेको हुन्छ भने त्यसमा विभागीय मन्त्रालय र अधिकारीहरूका विषयमा पनि सूक्ष्म विश्लेषण गरिएको हुन्छ । यस्तो सूचना दिनहुँ नै दिइएको हुन्छ । जसले गर्दा यस्ता सूचना चुहिँदा कतिपय सन्दर्भमा सरकारी कामकारबाही प्रभावित भएका छन्,’ विभाग स्रोतले भन्यो ।
सुरक्षाविद् एवं पूर्वगृहसचिव डा गोविन्द कुसुमले प्रधानमन्त्री वा सम्बन्धित व्यक्तिले लिनुपर्ने रिपोर्ट अरू कसैले खोल्ने र पढ्ने हो भने त्यो राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर अपराध भएको बताए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।







