Logo

गुरुङको उमेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइनेमा



काठमाडौँ, २ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही-२ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा आज पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो ।

सोही विरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न आज न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो । हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि आज सुनुवाइ हुन सकेन ।

गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही-२ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्