काठमाडौं, १५ पुष । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचानसँग जोडिएको यो पर्व भव्य रूपमा मनाइरहेका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तनको संकेतस्वरूप यस पर्वलाई ‘तमु ल्होसार’ नाम दिइएको मानिन्छ। विशेषगरी पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछिका दिन क्रमशः लम्बिँदै जाने भएकाले यो पर्वलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ।
सूर्यको तापक्रम र भौगोलिक अवस्थासँग पनि यस पर्वको ऐतिहासिक सम्बन्ध रहेको बताइन्छ। गुरुङहरूको बसोबास रहेको लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका पहाडी जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस हुने भएकाले पुस महिनामै ल्होसार मनाउने परम्परा विकास भएको विश्वास गरिन्छ।
ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ। राजधानीको टुँडिखेल क्षेत्रमा विशेष रौनक छाएको छ भने आइतबारदेखि सुरु भएको ल्होसार महोत्सव अन्तर्गत आज विविध सांस्कृतिक कार्यक्रम र प्रदर्शनको आयोजना गरिँदैछ।







