गुल्मी, ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ ।
आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो ।
बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो । आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् । उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।
यसैबीच गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् । स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घर/गोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए ।






