
काठमाडौँ, १६ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् ।
सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिरसमेत गरेका हुन् ।
उनले भने, ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न? भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो’ ।
सर्वोच्च अदालतले आदेश दिएपछि गएको शुक्रवार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए ।







