काठमाडौँ, १२ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ ।
सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको थियो ।
गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरेका थिए ।
त्यस्तै, राजदूतले विविन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।
उनीहरूबिच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल-इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।






