काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताउनु भएको छ।
सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उहाले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताउनुभएको हो।
उहाले अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताउनुभयो । त्यस्तै उहाले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताउनुभयो । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताउनु भयो।
उहाले भन्नुभयो ‘यस्ता विषमा संसद अवरोध गर्नुपर्ने कुनै आधार नै छैन्। छानबिनको दायरामा उहाँ हुनुहुन्छ। आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ। बिना आधारमा सामाजिक सन्जालमा फैलाइएको अफवाहकै आधारमा संसद अवरोध हुन थालेको छ। कहीं पनि यस्तो गर्न मिल्दैन।’
उहाले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताउनुभयो।
‘उहाँ (रवि लामिछाने)सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ। यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भन्नुभयो।