Logo

‘गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन, दबाब नदिनुहोला’



काठमाडौँ, ५ माघ । उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए । उनले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको र दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताए ।

उनले भने, ‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य लगायतका विषयमा संसद्ले त्यस्ता ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौँ भन्ने लाग्छ, दलबाट चुनिएर आए पनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ । लाभहानी हेरेर काम नहोस् । जनताका मर्म नभुली काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसद्मा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए । उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्