काठमाडौँ, ९ भाद्र । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने, “गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।” उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने र केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको बताए ।
भेटमा संघका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली तत्काल निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरे । नियमावलीमा राखिने प्रावधान अप्ठ्यारो भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।







