Logo

गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ: श्रेष्ठ



काठमाडौँ, २० चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् ।

उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । प्रहरी प्रधान कार्यालयको आज अनुगमन गर्दै उनले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ छ । उनले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।

“गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्तविक जनताका मुद्दा प्रहरीले सुनिदिनुपर्छ र हेरिदिनुपर्छ”, अनुगमनका क्रममा उनले भने, “ लाभ र सुविधा केन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।”

सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ छ । प्रहरी सङ्गठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासम्म पुग्ने उनको भनाइ छ ।

परिवर्तनको रक्षाका लागि पनि कार्यशैलीमा सुधार गर्दै जनताले त्यसलाई अनुभूति गर्नुपर्ने उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रहरी सङ्गठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।”

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवा सुविधा दिन राज्यका निकाय क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्