गोरखा, १६ असोज । गोरखकाली मन्दिरको दशैँघरबाट काठमाडौँको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती लगिएको छ ।
गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।
गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाडौँ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए ।
दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाडौँ गएका हुन् ।
फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौँ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।







