जापान, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि भएको घातक हमलालाई प्रधानमन्त्री फुमियो किशिदाले ‘घृणित कार्य’ भनेका छन्।
आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन् । किशिदाले भने, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गर्दैछु। म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु। लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन।’
राजधानी टोकियोमा भावुक भाषणका क्रममा किशिदाले भने, ‘निर्वाचन भइरहेको छ। म जे गर्न सक्छु गर्नेछु, र म यस आक्रमणको निन्दा गर्न सक्दो कडा शब्दहरू प्रयोग गर्न चाहन्छु।’ उनले आबेमाथि भएको आक्रमणलाई माफ गर्न नसकिने बताए ।
आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको हो। उनीमाथि गोली प्रहार भयो । त्यसै क्रममा उनी अचानक भुईँमा ढले । मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । उनको अवस्था चिन्ताजनक रहेको छ ।
जापान टाइम्सका अनुसार आबेको अवस्था चिन्ताजनक छ। जापानी सञ्चारमाध्यममा पनि गोली लागेर आबेलाई हृदयघात भएको बताइएको छ । जापान टाइम्सका अनुसार गोली लागेर आबेको घाँटीमा चोट लागेको थियो र छातीबाट रगत बगेको थियो।