रसुवा, २८ साउन । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
मेला सकेर घर फर्कने क्रममा शुक्रबार लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
नुवाकोट ककनी गाउँपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका-११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उनीहरुलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको स्वास्थ्यमा सुधार आएको र पछि आफन्तको जिम्मा लगाएर पठाइएको थियो । जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ रसुवाको गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् ।






