चितवन, १८ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताएकी छन् ।
बाग्मती प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै मेयर दाहालले रङ्गशालाको अभ्यास मैदानमा नियमित खेल हुने बताएकी हुन् । नियमित खेल गतिविधि गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने उनको भनाइ छ ।
क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माणका लागि ७० प्रतिशत बाग्मती प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्ने सहमति भएको छ । पहिलो चरणमा ७५ करोड रुपैयाँको काम हुने जनाइएको छ ।
‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन’, मेयर दाहालले भन्नि, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण शुरु गर्ने गरी टेन्डरको काम हुँदैछ ।’