Logo

गौरादहमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना: एक महिलाको मृत्यु, आठ घाइते



झापा, १९ माघ । झापाको गौरादह नगरपालिकामा बेहुली लिएर फर्किँदै गरेको जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

दुर्घटना आज साँझ करिब ७ः२० बजे गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुल नजिक भित्री पक्की सडकखण्डमा भएको हो। गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ त. ९७२० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा मोरङ रतुवामाई–८ की ३८ वर्षीया स्वस्तिका मर्डी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा मुनीमती सतार (५०), सन्तोषी किस्कु (१५), एतोबार मुर्मु (६०), बिनिता मर्डी (२३), सरिता मर्डी (२०), गंगाराम मर्डी (३), मेलिना मर्डी (८) र शिला मर्डी (३०) रहेका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

ट्रयाक्टर चालक मोरङ रतुवामाई–५ का २५ वर्षीय चमलाल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिई महारानीझोडा प्रहरी चौकीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्