झापा, २७ पुष । झापाको गौरादह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। दुर्घटना गौरादह नगरपालिका–५ अन्तर्गत चान्दुखोलाको भित्री सडक खण्डमा गएराति भएको हो।
बालुबथानबाट फकिटिपतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा गौरादह नगरपालिका–७ निवासी ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भएका थिए।
घाइते माजिमलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइएको भए पनि अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा गौरादह–७ का ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया तथा ३४ वर्षीय केलु मिया रहेका छन्। सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनापछि ट्याक्टर चालक गौरादह नगरपालिका–७ निवासी ३८ वर्षीय यमप्रसाद राजवंशी घटनास्थलबाट फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







