Logo

गौरीगञ्जमा ७ लाख बराबरको मोबाइल सामान चोरी गर्ने युवक पक्राउ



झापा, २१ पुष । गौरीगञ्ज गाउँपालिका स्थित एक मोबाइल पसलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज चोक निवासी १९ वर्षीय सुवास (कोच) राजवंशी रहेका छन्। चोरी भएको २४ घण्टा नबित्दै चोरीका सामानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराति गौरीगञ्ज–३ गौरीगञ्ज बजारमा गौरादह–८ जुरोपानी निवासी इन्द्रकुमार बरालले सञ्चालन गरेको ‘बराल स्टोर’ मोबाइल पसलमा चोरी भएको थियो। चेन गेटको ताल्चा तथा ढोकामा लगाइएको फलामको सिक्री काटेर पसलभित्र रहेका विभिन्न सामग्री चोरी गरिएको थियो।

घटनाबारे बिहान जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो। सोही क्रममा आज दिउँसो ४ः२० बजे चोरीमा संलग्न कोचलाई चोरीका सामानसहित उनको घरबाटै पक्राउ गरिएको हो।

उनको घरबाट एन्ड्रोइड मोबाइल ६ थान, ड्रोन १ थान, मोबाइल चार्जर ३ थान, हेडफोन १ थान, इयरफोन ३ थान र अनुहार छोप्न प्रयोग गरिएको मुकुट बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुहारमा मुकुट लगाएर चोरीमा संलग्न भए पनि सीसीटिभी फुटेजको आधारमा उनको पहिचान खुलेको प्रहरीले बताएको छ। पक्राउ परेका कोचलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्