Logo

गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छ: साह



काठमाडौँ, ११ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् ।​

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् ।

उनले १७ वर्ष अगाडि नै मुद्दा दर्ता भएको भए पनि प्रक्रिया अगाडि नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाए हेग जाने अवस्था आउने बताए । उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको जिकिर गरेका थिए ।

उनले सरकारले कानुनी शासनको खिल्ली उडाउने काम गरेको बताए । उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरू चुप नलाग्ने बताएका हुन् ।

‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो। मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडि मुद्दा दर्ता छ तर कानुन लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केही दिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । केही गर्नु हुँदैन । भने यो कानुनको शासन हो रु कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्ने? न्यायको लागि सरकार बनेको हो कि? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ? उनले भने ‘कानुनको शासनको खिल्ली उडाउने काम भएको छ । यदि सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरू नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौं हामी । यो कार्यक्रममार्फत सरकारलाई भन्न चाहन्छु, तपाईंलाई कुर्सी प्यारो हो भने नेपाली जनता चुप लागेर बस्दैन । आम जनता पार्टी चुप लागेर बस्दैन ।’

प्रतिक्रिया दिनुहोस्