झापा, ९ भाद्र । गौहत्याको विरोधमा धरान हिँडेकाहरुलाई झापा प्रशासनले चारपानेमा रोकेको छ ।
बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध नाराबाजी भइरहेको छ ।
झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अगि बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरुले गौ हत्या गर्न पाइदैन, हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरिरहेका छन् ।
शंख ध्वनीसहित विरोध जनाइरहेका उनीहरुले गौ हाम्रो आमा हुन्, गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरुको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।







