Logo

ग्वार्कोमा ‘फ्लाइओभर’को काम सुरु



काठमाडौं, २९ माघ । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार ‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ । ट्राफिक व्यवस्थापन तथा सजिलोका रूपमा सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको छ ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ गतेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ ।

त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्