काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ जस्तै समानुपातिकतर्फ पनि ऐतिहासिक मत प्राप्त गरेको छ।
हालसम्म १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको मतगणना सकिँदा रास्वपाले प्रत्यक्षतर्फ १२४ सिट जितेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ। समानुपातिकतर्फ पनि रास्वपाले ३७ लाख ६५ हजार ९३७ मत प्राप्त गरेको छ।
दोस्रो दल बन्न लागेको नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट जितेको छ भने समानुपातिकतर्फ १२ लाख ६९ हजार ३३० मत प्राप्त गरेको छ।
त्यस्तै प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ८ क्षेत्रमा जित हासिल गर्दा एक क्षेत्रमा अग्रता कायम राखेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ७४ हजार ०८२ मत प्राप्त गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ ५ लाख ५२ हजार ५०८ मत प्राप्त गरेको छ।
हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ क्षेत्र जित्दा समानुपातिकतर्फ २ लाख ५६ हजार ०४६ मत पाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ १ सिट जित्दै समानुपातिकतर्फ २ लाख ६३ हजार ६७३ मत प्राप्त गरेको छ।
राप्रपा र श्रम संस्कृति पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिए पनि अन्य दलले उक्त सीमा पार गर्ने सम्भावना कम हुँदै गएको छ।
निर्वाचन आयोग नेपाल का अनुसार आज दिउँसोसम्म प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ भने समानुपातिकतर्फको मतगणना मंगलबारसम्म सम्पन्न गर्ने योजना रहेको जनाएको छ।







