पोखरा, १ माघ । आइतवार दिउँसोसम्म पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो । तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ ।
घारीपाटनस्थित एउटा घरको कम्पाउन्डभित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे । त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे ।
“उनीहरू निकै डराएका छन् । मेरो पनि मन आत्तिएको छ । आँखैअगाडि प्लेन जलेको देखेँ,” ४३ वर्षीया गुरुङले सुनाइन् ।
उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो । सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन् । उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ ।
तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन् ।
“के भएछ भनेर हेर्दा प्लेन त छतमै खस्छ जसरी आइरहेको थियो। मैले अरू बेला प्लेन त्यसरी कोल्टिएको कहिल्यै देखेकी थिइनँ,” उनले भनिन् ।
आफूले हेर्दाहेर्दै विमान सेती नदीको खोँचतिर जोतिएको उनले बताइन् ।
“प्लेन तलतल गएपछि ठूलो आवाज आयो । त्यसपछि केहीबेर धुवाँको कालो मुस्लो मात्र देखिएको थियो । एकैछिनमा आगो पनि बल्न थाल्यो ।”
“झ्यालका सिसा, चियाको मग र डढेको चोइटाहरू हाम्रो बारीसम्मै आइपुगेका छन्,” उनले थप भनिन् ।







