Logo

घाटा अर्थतन्त्र: १४ खर्ब ६६ अर्बको आयात, निर्यात केवल १ खर्ब ६० अर्ब



काठमाडौँ, १० जेठ । नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारमा व्यापक घाटामा छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा २८ दशमलव पाँच प्रतिशतले बढेर १३ खर्ब ६ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र यो साता सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चैत महिनासम्मको प्रतिवेदन अनुसार मुलुकले उक्त व्यापार घाटा बेहोरेको हो। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलव पाँच प्रतिशतले बढेको थियो।

चालु आवको पछिल्लो नौ महिनामा निर्यात– आयात अनुपात १० दशमलव नौ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव पाँच प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९ दशमलव चार प्रतिशतले बढेर एक खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २० दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ८६ दशमलव नौ प्रतिशत र २५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१ दशमलव आठ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेलसोयाबिन तेलधागो (पोलिस्टर तथा अन्य)ऊनी गलैंचापिना लगायतका वस्तुको निर्यात बढेपनि अलैंचीचियादन्त मञ्जनतामाको तार लगायतका वस्तुको भने निर्यात घटेको छ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेर १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलव एक प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतचीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: २४ दशमलव चार प्रतिशत२८ दशमलव छ प्रतिशत र ५९ दशमलव दुई प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थऔषधीकच्चा पाम तेलअन्य मेसिनरी तथा पार्ट्ससुन लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेटरासायनिक मलसिमेन्टदालमोलासिस सुगर लगायतका वस्तुको आयात भने घटेको छ। निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ।

आयातततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात बढेको देखिएको छ। पछिल्लो नौ महिनामा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३९ अर्ब २८ करोड बराबरको भएको थियो।

खुद सेवा आय ८० अर्ब रुपैयाँले घाटामा

खुद सेवा आयमा पनि मुलुक घाटामा देखिएको छ। नेपाल राष्ट्र  बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा खुद सेवा आय ८० अर्ब ३५ करोड रुपैयाँले घाटामा देखिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५३ अर्ब २६ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय भने दुई सय ३२ दशमलव तीन प्रतिशतले वृद्धि भई १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच अर्ब ५६ करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय ३० दशमलव पाँच प्रतिशतले वृद्धि भई ६१ अर्ब ८९ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फ व्यय ४३ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २६ अर्ब ८५ करोड रहेकोमा शिक्षातर्फ व्यय २१ अर्ब १७ करोड रहेको थियो।

नौ महिनामा सात खर्ब २४ अर्ब रुपैयाँ रेमिटेन्स

नेपालमा सात खर्ब २४ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह शून्य दशमलव छ प्रतिशतले घटेर सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले कमी आएर ६ अर्ब ५ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ५६ हजार ३१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४ दशमलव नौ प्रतिशतले घटेको थियो। त्यसैगरीवैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा एक सय ९९ दशमलव नौ प्रतिशतले वृद्धि भई दुई लाख छ हजार छ सय २९ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६० दशमलव सात प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर शून्य दशमलव सात प्रतिशतले कमी आई आठ खर्ब आठ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४ दशमलव चार प्रतिशतले बढेको थियो।

चालु खाता पाँच खर्ब १२ अर्ब रुपैयाँले घाटामा

मुलुकको चालु खाता घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा चालु खाता पाँच खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता दुई खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९ दशमलव पाँच प्रतिशतले कमी आई सात अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रहेको थियो। चालु आवको पछिल्लो नौ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्रा सञ्चिति १६ दशमलव पाँच प्रतिशतले घट्यो

कुल विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव पाँच प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८ दशमलव दुई प्रतिशतले कमी आई नौ अर्ब ६१ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७ दशमलव नौ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ। नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी मुद्रा सञ्चिति भने २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा पाँच दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ। २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति सात महिना चार दिनको वस्तु आयात र छ महिना छ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्