झापा, १९ पुष । झापाको चनद्रगढी विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा दुर्घटना हुदा को-पाइलटसहित सात जना घाइते भएका छन्।
बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान काठमाडौँबाट भद्रपुरतर्फ उडान भरेको थियो। करिब राति ९ः१० बजे अवतरणका क्रममा जहाज रनवेको पूर्वतर्फ करिब तीन सय मिटर ओभर–रन भई घाँसे क्षेत्र र माटोमा फसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।
विमानमा रहेका ५१ जना यात्रु, चालक दलका चार सदस्य र एक जना इन्जिनियरमध्ये को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पुर्याएको थियो। को–पाइलटको अस्पतालमा उपचार जारी रहेको छ भने अन्य घाइते सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
घाइते हुनेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी उपरीक्षक लिम्बुको नेतृत्वमा ७० जनाको उद्धार टोली खटिएको थियो। सबै यात्रु सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीले बताएको छ।
विमान किन ओभर–रन भयो भन्ने विषयमा प्रारम्भिक अध्ययन भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।







