इरान, ३ पुस । इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् ।
अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गरी गएको हप्ता इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् । साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन ।
इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । महिलाहरूको हिजाब विरोधी प्रदर्शनले इरानलाई नयाँ दिशामा डोर्याइरहेको कतिपयले विश्लेषण गरेका छन् । इरानमा अहिले भैरहेको प्रदर्शन सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।